गुल्मीको ट्री–हाउसले पर्यटक तान्दै !



अनिल खत्री,भदौ ३० गुल्मी ।

गुल्मीको रेसुङ्गा नगरपालिका–७ को उनाएचौर आन्तरिक पर्यटकको गन्तव्य स्थल बन्दै गएको छ । पार्कसहित ट्री–हाउस बनेपछि उनाएचौर घुम्न आउने पर्यटकको संख्या वृद्धि भएको स्थानीयले बताएका छन् ।

उनाएचौरमा निर्माण भएको ट्री–हाउस चढेर तम्घास बजारसँगै बिभिन्न स्थानका दृश्यावलोकन गर्न सकिने भएपछि आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गरेको कार्यपालीक सदस्य रघुनाथ पन्थीले बताए ।सल्लोको रुखमा मचान शैलीमा निर्माण गरिएको ट्री–हाउसले पर्यटकलाई आकर्षित गर्ने गरेको उनको भनाइ छ । ट्री–हाउस सञ्चालनमा आएको एक महिनाभित्रमा अन्य जिल्लाबाट समेत आन्तरिक पर्यटकहरु घुम्न आउने गरेको उनले बताए । एक महिनाको अवधिमा १५ हजार पर्यटकले उनयचौर पर्यटकीय स्थलको अवलोकन भ्रमण गरिसकेको उनले बताए ।जिल्ला सदरमुकाम तम्घासबाट झण्डै ६ किलोमिटर टाढाको दुरीमा रहेको उनयचौर धार्मिक महत्वको ठाउँ समेत भएकाल पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पार्क र ट्री–हाउस निर्माण गरिएको उनले बताए ।

सल्लोको रुखमा फलामको भ¥याङ राखेर ४२ फिट अग्लो रुखमा बनाइएको घरबाट तम्घास बजारसँगै छिमेकी जिल्लाका बिभिन्न स्थलहरु हेर्न सकिने भएकाले उनाएचौर अहिले पर्यटकको रोजाइमा पर्न पुगेको छ ।

धेरै वर्ष पहिले उनाएचौरमा विमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन गरिएको थियो । तर, प्राविधिक समस्या देखिएपछि अहिले विमानस्थल सिमीचौरमा निर्माण भइरहेको छ ।
विमानस्थल अन्तै बन्ने भएपछि निराश बनेका स्थानीय ट्री–हाउस, खेल मैदान र पर्यटकीय पार्क बनेपछि उत्साहित भएका छन् ।हाल दैनिक १ सय जनासम्म ट्रिहाउस अवलोकन गर्नको निम्ति पुग्ने गरेका छन् । ट्री–हाउस अवलोकनको निम्ति प्रतिव्यक्ति २० रुपैयाँ लिने गरिएको छ । त्यस स्थलको संरक्षण गर्नको निम्ति शुल्क लिने गरिएको समितिले जनाएको छ ।

वृद्धहरुको निम्ति निशुल्क र विद्यार्थीहरुलाई १० रुपैयाँ लिएर अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ ।पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नयाँ खालका संरचना निर्माण भएकाले आन्तरिक पर्यटकहरु घुम्न आउने गरेको स्थानीय तेजबहादुर पुनले बताए ।

पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि भौतिक पूर्वधार तयार पार्न लागि परेको वडा ७ का अध्यक्ष मोहनप्रसाद पाण्डेले बताए ।

प्रदेश–५ को वन मन्त्रालयको आर्थिक सहयोगमा पार्कसहित ट्री–हाउस निर्माण भएको पाण्डेले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता