गुल्मीमा अनौठो चोरी घटना ! बहुमूल्य सामग्री चोरेर मदिरामै मस्त !



।‘धर्म गरे स्वर्ग देखिन्छ’ भन्छन् । तर, कहिलेकाँही मानिसले कुकर्म गरे पनि स्वर्ग देख्दा रहेछन् । यही साउन २१ गते राति कुकर्म गर्ने क्रममा गुल्मीका एक युवाले वास्तविक जीवनको स्वर्ग महसुश गर्न भ्याए ।

आफ्नो जीवनभर कहिल्यै सेवन नगरेका ब्राण्डेड मदिरा खाई–पिई गरी स्वर्गीय आनन्दको मज्जा लिँदै उनले जीवनमै पहिलो पटक बेग्लै प्रकारको विलाशी जीवनको महसुश गरे । उनी थिए गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर– तीन भाडगाउँका २० वर्षीय आशिष बिक ।

चोरीको अनौठो घटनाः
गत विहीबार गुल्मीकै धुर्कोट गाउँपालिका वडा नम्वर ६ वेलटारीका वडा सदस्य शालिकराम अर्यालको फोन अयो । उनले भने– ‘मेरो जीवनमै एउटा अनौठो चोरी घटना घट्यो । मेरो भाई मेघनाथ अर्यालको घर फोडेर चोरी गर्ने ती मित्रले गज्जबको स्वभाव देखाए ।’

घरभित्र पसेर बहुमूल्य सामग्री चोरेर आशिषले बाहिर झाडीमा लुकाएपछि कोठामा रहेका ब्राण्डेड रक्सी पिउन थाले । मदिराले लठ्ठ बनजेका आशिषले त्यस घरबाट भाग्नुपर्छ भन्ने कुरा नै भुले । आकर्षक कोठाको बक्स पलङ्गको विस्तरा, डाइनिङ्गन रुम, सिटिङ्ग रुममा घर मालिककै रवाफमा रमाउँदै, छतमा पुगेर चारैतिर दृश्य नियाले । त्यस्तै हुस्कीको चुस्की लिदै मस्त भए तर, भाग्न भुले ।

आशिष आफै भन्छन् ‘मसँगै चोर्न पसेका अन्य ७ जना साथीहरु भागेछन । म रक्सी लागेर निदाएछु । के गरुँ भाग्न भुले ।’ विहीवार जिल्ला प्रहरी कार्यालयमा भने आशिषले कुरा फेरे । प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतसँग भन्दै थिए ‘अरु होइन, म मात्रै चोर्न पसेको हुँ ।’

आशिषले त्यस घरमा चोर्न पसेपछि मदिरा पिएर निदाउन पुगेको पनि बस्नेतसँग बताए । खानदानी युवाहरुले झैँ कपाल पालेका, पाइन्ट टि–शर्टमा सजिएका आशिष बुधबार विहान प्रहरीले नियन्त्रणमा लिई चोरीको सामग्रीसँगै प्रहरी चौकीमा लैजाँदै गर्दा सदरमुकाम तम्घासका ठूलै ब्यवसायीको पहुँच रहेको घुर्की असई लोकमान ताम्राकारले बताए ।

आशिषले ‘म फलाना कहाँ काम गर्ने मान्छे हुँ । मलाई बाटैबाट छाडीदिनुस् तपाईलाई एक डेढ लाख रुपैयाँ मिलाई दिन्छु’ भन्न समेत भ्याए । अन्य सात जनाको नाम मुखमा जे आयो त्यही टिपाउँदै थिए । गगनदेखि गजलसम्म, नाम टिपाएकाहरु सबैको थर केसी भएको बताएका थिए ।

आफू बिकलाई भने आशिष बिसी बताउँदै थिए । महँङ्गो मूल्यको मदिरा मध्ये ब्ल्याक लेबलको एउटा बोत्तल उनले बाहिर लगेर पहिल्यै लुकाई सकेका थिए । किचनमा रहेका दुई वटा ८८४८ को बोत्तल मध्ये एउटा रित्याईसकेका थिए ।

हाँस्नु हाँसे एसपी
एसपी बस्नेतले भने– ‘गुल्मीमा म आएदेखि घटेका हरेक घटनामा कारक मदिरा छ, पछिल्लो यस चोरीको घटना पनि मदिराले नै घटाएको छ । लागू पदार्थ मध्ये यो मदिरा भन्ने चिज, मानिसलाई निकै सुरो, आफैले आफैलाई ठूलो बनाउने चिज हो ।

यसरी मदिरा पिएर घटेका अपराधिक घटनाका मानिसहरुले हामीलाई रक्सी पिएको मातमा ‘मेरो यहाँ, उहाँ पहुँच छ, तेरो फुली फुकालीदिन्छु भन्छन् । छाडेपछि बल्ल लुरे बन्छन । यी भाईले पनि रक्सी पिएर त्यही पारा देखाए ।’

उनले थपे, ‘चोर्न पसेको मान्छे, पिउन थालेपछि भाग्न भुले । जसका कारण समात्न हामीलाई सजिलो भयो । हामीले उनले चोरेर अलि पर झाडीमा लुकाएका केही सामग्रीहरु बरामद गरेका छौं । अनुसन्धान गर्न बाँकी छ ।’ एसपी बस्नेत ती युवकको रवाफ देखेर केही बेर हाँस्नु हाँसे ।

एनपी काठमाडौ बाट

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता