धुर्कोट बस्तुमा रहेकाे विचित्र गुफा



तस्विर नयाँ पत्रीका दैनिक

 

टोपलाल अर्याल गुल्मी ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न स्थानीय बासिन्दा गुल्मी सदरमुकाम तम्घासबाट चार कोस टाढा धुर्कोट गाउँपालिका–५ बस्तुस्थित विचित्र गुफाको संरक्षण र संवर्द्धनमा जुटेका छन् ।

गुल्मीको धुर्कोट गाउँपालिका–५ बस्तुस्थित विचित्र गुफा नामजस्तै विचित्र पनि छ । यो गुफा सदरमुकाम तम्घासबाट चार कोष टाढा पर्छ । यो विचित्र किसिमको रहेको संरक्षण समितिका अध्यक्ष युवराज भण्डारी बताउँछन् ।

गुफा एक सय ८५ मिटर लामो छ । गुफा संरक्षण समिति अध्यक्ष भण्डारी दुई तलासम्म अध्ययन गरिएको र यसमा अझै थुप्रै तला रहेको बताउँछन् । ‘विचित्र गुफाभित्र धेरै तला छन् । भित्र भएका छुट्टाछुट्टै सुरुङहरूको उत्खनन र अनुसन्धान हुन बाँकी छ,’ उनी भन्छन् ।

उनका अनुसार गुफाभित्र रहेका संरचनालाई स्थानीय बासिन्दाले सभाहल, रामजानकी आश्रम, शिवालय, स्वर्ग जाने बाटोलगायत नामकरण गरेका छन् । गुफा मुख्य प्रवेशद्वारबाट झन्डै एक सय ५० मिटरभित्र ठूलो सभाहल छ । जहाँ पाँच सयजनासम्म अटाउन सक्छन् ।

 

तस्वीर नयाँ पत्रिका बाट,टोपलाल अर्याल

मन लोभ्याउने आकृति
सभाहलनजिकै शिवलिंगसहित मन्दिर, राम र कृष्णका मूर्ति, विभिन्न नागका आकृति, गोपीकृष्ण, जटायुलगायत आकृति छन् । सभाहलमाथि सिलिङमा विभिन्न आकृतिहरू कलात्मक बुट्टाले भरिएका छन् । बुट्टाबीचमा रातोमाटोले पोतेर सफा गरेको मण्डप छ । गुफामा फेला परेका गुफाका आकृतिलाई नरसिंह अवतार, कच्छप अवतार, गोपीकृष्ण, जटायु, शिवलिंगलगायत नामकरण गरिएको संरक्षणमा संलग्न लालमणि भण्डारी बताउँछन् ।

ढेडु लखेट्दा भेटिएको गुफा
स्थानीय बासिन्दाले ढेडु लखेट्दै जाने क्रममा गुफा भेटेका थिए । गुफा फेला परेको लामो समय अस्तव्यस्त नै रह्यो । केही समययता भने स्थानीय बासिन्दा रेखदेख र संरणक्षमा जुटेका छन् । ‘अहिलेसम्म स्थानीय स्रोत केही छैन, हामीले सकेजति गुफाको रेखदेख र संरक्षण गरेका छौँ,’ समितिका अध्यक्ष भण्डारी भन्छन् ।

यसको संरक्षण तथा संवद्र्धनका लागि स्थानीय बासिन्दाले आगन्तुकबाट शुल्क पनि लिने गरेका छन् । तर, उचित संरक्षण र सुरक्षा नहुँदा गुफाभित्रका आकृति चोरी हुन थालेको उनको भनाइ छ ।

कसरी पुग्ने ? 
यो सदरमुकाम तम्घासबाट चार कोष टाढा छ । तम्घास–सिमलटारी–प्युठान सडकखण्डबाट झन्डै २० मिनेट उकालो हिँडेपछि गुफासम्म पुगिन्छ । अहिले गुफासम्म पुग्ने सडक निर्माणका लागि पहल भइरहेको समितिका प्रवक्ता कृष्णप्रसाद भण्डारी बताउँछन् । धुर्कोटबस्तुको पूर्वी क्षेत्र चिल्लाट र पश्चिमी क्षेत्र डिट्ठाको पोखरीदेखि गुफाको नजिकैसम्म मोटरबाटो पुगेको छ । गुफासम्मै सडक पुगे आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीय बासिन्दाको विश्वास छ ।

नयाँ पत्रिका बाट

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता