मुख्यमन्त्रीसँग गुनासो पोखे गुल्मीका जनप्रतिनिधिले !



टोपलाल अर्याल भदौ १२,गुल्मी ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनप्रतिनिधिलाई आफूले नबिराउन र नडराउन आग्रह गरे । जिल्ला समन्वय समितिको कार्यालयमा स्थानीय तहका प्रमुख, उपप्रमुखसँग कुरा गर्दै पोखरेलले समाजमा लगाउने सबै आरोप गल्ति नभएकाले ढुक्क भएर काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।

‘काम गर्ने मान्छेका पक्ष र विपक्ष दुवै हुन्छन्, आरोपले अतालिनु पर्दैन,’ उनले भने, ‘आरोप प्रमाणित भए नैतिकताका आधारमा सजाय भोग्नुको विकल्प छैन् ।’ उनले स्थानीय तहले आफ्नो क्षेत्रको नागरिकलाई फाइदा हुने गरी सञ्चालन भएको विकास आयोजनालाई प्रदेश र केन्द्रको नभनेर अनुगमन तथा सुझाब दिनुपर्ने बताए । उनले समायोजन सकिएपछि करारको बाटो पनि खुल्ने र लोक सेवा आयोगमार्फत अब छिट्टै कर्मचारी व्यवस्थापन गर्ने बताए ।

प्रदेशका योजना अलपत्र
रुरु गाउँपालिकाका प्रमुख नीलकण्ठ गौतमले प्रदेशका योजना सञ्चालन हुँदा स्थानीय तहसँग समन्वय नभएको गुनासो गरे । ‘प्रदेशबाट परेका गाउँका बाटा अलपत्र छन्, ठेकेदार पैसा लिएर बेपत्ता छ,’ उनले भने, ‘गाउँपालिकालाई कुनै भूमिका दिइएको छैन ।’ धेरै थरिका सडक र तिनीहरूका कार्यालय भएकाले नागरिक र उपभोक्ता अलमलमा पर्ने गरेको उनले बताए ।

प्रदेश सरकारले सञ्चालन गरेका योजनाहरूको पनि प्रभावकारी अनुगमन नभएको सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले बताए । उनले सत्यवती गाउँपालिकाका विभिन्न महत्वपूर्ण सडकहरू ठेकेदारले अलपत्र बनाएको देखे पनि केही गर्न सक्ने अवस्था नरहेको बताए । जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले प्रदेशमा योजनाका विषयमा समन्वय गर्ने र मिलेर विकास निर्माणमा अगाडि बढ्नुपर्ने बताए ।

कर्मचारी समस्या झेल्दै
गुल्मीका स्थानीय तहले कर्मचारीको नहुँदा निकै समस्या परेको गुनासो गरेका छन् । मुसीकोट नगरपालिकाको उपमेयर कमला शर्माले प्रशासकीय प्रमुखले मात्रै कार्यालय सञ्चालन गर्नुपर्ने अवस्थाले नागरिकमैत्री सेवा विस्तारमा समस्या भएको बताइन् । उनले स्थानीय तह गठन भएको धेरै समयसम्म पनि आवश्यक कर्मचारी नहुँदा लक्ष्य हासिल गर्न मुस्किल परेको गुनासो गरिन् । त्यस्तै, चन्द्रकोट गाउँपालिकाप्रमुख द्रोणबहादुर खत्रीले वडा सचिवविहीन गाउँपालिकामा एकजना अधिकृत र दुई–तीनजना खरिदार सुब्बाको भरमा अहिले बजेट ल्याएको विडम्बना सुनाए । छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्थले दरबन्दीका कर्मचारी नहुँदा करारमा कर्मचारी राख्न र राखे निकाल्न धेरै समस्या परेको गुनासो गरे ।

सात प्रदेशमध्ये अब्बल भएको दाबी 
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफूहरू सात प्रदेशमध्येमा अब्बल देखिएको बताए । उनले कानुन निर्माण र विकास खर्च र आर्थिक वृद्धिदरको हिसाबले सात प्रदेशभन्दा अगाडि भएको दाबी गरे । उनले प्रदेशको संरचना निर्माण र कर्मचारीको व्यवस्थापनका चुनौतीका बीच ६ महिना मात्रै काम गरेपछि राम्रो उपलब्धि प्राप्त गरेको बताए । मुख्यमन्त्री पोख्रेलले प्रदेशले संघीयता कार्यान्वयन, कानुन निर्माण, आवधिक योजना तर्जुमासँगै सम्पादन गरेका कामहरू उत्कृष्ट भएकाले दाबी  गरे । साथै,  तीन वर्षभित्र सबै जिल्लाका नागरिकमा आधारभूत खानेपानी सुविधा र साना, ठूला सडक निर्माणको सबै काम सम्पन्न गर्ने बताए ।

यो वर्षमै नाम र राजधानी टुंगो लाग्ने
मुख्यमन्त्री शंकर पोखरेलले यो वर्ष नाम र राजधानी टुंगो लगाउने बताएका छन् । राजनैतिक नभएर प्राविधिक परीक्षणका आधारमा राजधानी टुंगो लाग्ने उनको भनाइ छ । नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री पोखरेलले राजनैतिक हिसाबले धेरैका आफ्नै तर्क र चाहना भएकाले प्राविधिक मूल्यांकन सुरु गरेको बताए । ‘राजनैतिक हिसाबले धेरै विलम्ब ग¥यौँ, अब पछि पर्दैनौँ,’ उनले भने, ‘विज्ञहरूको सुझाबपछि निर्णय गर्नेछौँ ।’ उनले यो वर्षभित्र १२ जिल्लाका जनताको भावना र हरेक घरमा दीप बल्ने गरी प्रदेशको नाम र राजधानी टुंग्याउने बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता